पहिरो प्रभावित ७५ घर परिवारलाई राहत वितरण

blog post

गुल्मी–गुल्मीको इस्मा गाउँपालिका ६० र मुसिकोट नगरपालिकाका १५ गरेर ७५ पहिरो प्रभावित घर परिवारलाई राहत प्रदान गरिएको छ। एकीकृत ग्रामीण विकास समाज र सुआहारा गुल्मीको संयोजनमा केयर नेपालले पहिरो पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको हो।

प्रत्येक परिवारलाई बजार मूल्य अनुसार १० हजार बराबरका राहत सामग्री प्रदान गरिएको छ। इस्मामा ६ लाख र मुसिकोटमा एक लाख ५० हजार गरी कुल सात लाख ५० हजार बराबरको सामग्री प्रदान गरेको सु–आहारा गुल्मीका फिल्ड संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए।

इस्मा र मुसिकोटमा गत असार ६ र १८ गतेको पहिरोबाट प्रभावितहरुलाई राहत वितरण गरिएको हो। अहिले पहिरो प्रभावितहरु अस्थायी आवास र बिद्यालयहरुमा बस्दै आएका छन्। संस्थाले बिशेष गरेर पहिरोबाट प्रभावित आमा र किशोरीहरुलाई आवश्यक पर्ने सामग्री प्रदान गरेको फिल्ड संयोजक विश्वकर्माले बताए।

पहिरोबाट पुर्ण क्षति भएका, सुनौला हजार दिनका आमा र उच्च जोखिममा भएकाहरुलाई त्रिपाल सहितको सेल्टर किट, म्याट्रिस, महिला तथा किशोरीहरुलाई आवश्यक सामग्रीसहितको डिगनिटी किट र कम्बल सहितको हाइजिन किट प्रदान गरिएको एकीकृत ग्रामीण विकास समाजका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिए।

इस्मा गाउँपालिका वडा नं १, २, ४ र ६ का ३६ घर पूर्ण क्षति भएका, २१ जना हजार दिने आमा र तीनजना उच्च जोखिमका घरधुरीलाई राहत प्रदान गरिएको थियो। त्यस्तै मुसिकोट नगरपालिका वडा नं १ र २ का पाँच जना सुनौलो हजार दिनका आमा, चार घर पुर्ण क्षति र छ घर उच्च जोखिममा भएका गरेर १५ घर पहिरो प्रभावितलाई राहत वितरण गरिएको विश्वकर्माले बताए।

राहत वितरणको संयोजन गरिरहेको एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष हिरा एसीले सुनौला हजार दिनका आमाहरुको अवस्थालाई ख्याल गरेर उनीहरुलाई आवश्यक पर्ने स्वास्थ्यदेखि अन्य धेरै महत्वपुर्ण सामग्री प्रदान गरेको बताए।

उनले अन्य संघ/संस्थाहरुले नगद र खाद्यान्य सहयोग गरिरहेको अवस्थामा आफुहरुले त्रिपाल, कम्बल सहित महिलाहरुलाई अस्थायी आवासमा महिनावारी हुँदा अति आवश्यक पर्ने सेनेटरी प्याड लगायतको सामग्री प्रदान गरिएको बताए।

गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उपप्रमुख विमला खत्रीले सबैको सामुहिक प्रयासबाट इस्माको एकीकृत बस्ति र दीगो पुर्नवासको काम अगाडी बढ्ने बताए। उनीहरुले आफुहरुको दुखमा सहजीरकण गर्ने एकीकृत ग्रामीण विकास समाजसंगै सवै संस्थालाई धन्यवाद् दिए।

बर्षात रोकिने बित्तिकै पूर्ण बिस्थापित परिवारसँग सल्लाह गरेर एकीकृत वस्ती बसाल्ने जग्गाको एकिन गरेर पुर्नवासको काम थालिले उनीहरुको भनाई छ।