सहभागितामूलक स्वसमीक्षा सम्पन्न - GECDP

blog post

सहभागितामूलक स्वसमीक्षा सम्पन्न

एकीकृत ग्रामीण विकास समाजको सहभागितामूलक स्वसमीक्षा सम्पन्न भएको छ । २०७७ भदौ २ र ३ गते सम्पन्न सो कार्यक्रममा संस्थाको वार्षिक प्रगति समीक्षा गरिनुका साथै आगामी दिनमा गर्नुपर्ने कामको योजनासमेत निर्माण गरिएको थियो । उक्त कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका बाह्रवटा आधारशिलामा गत वर्ष गरिएका काममा सहभागीहरुले अंक प्रदान गरेर समीक्षा गरेका थिए । कार्यक्रममा संस्थाप्रति लाभग्राही एवं समुदायको विश्वास, सहयोगी तथा साझेदारहरुको निरन्तर सहयोग, सरकार तथा सरोकारवाला निकायको सहभागिता, कर्मचारीहरुको लगाव र कार्यसमितिको क्रियाशिलताले गर्दा कोभिड १९ को महामारीले सिर्जना गरेको असहज परिस्थितिमा पनि संस्थाले गरेका काम सन्तोषजनक रहेको समीक्षा गरिएको थियो ।

                परियोजनागत कामका साथै संस्थाले गतवर्ष आफ्नो कार्यक्षेत्र भित्रका विपन्न, दलित, जनजाति छात्रछात्राहरुका लागि छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको, जनजागरण प्रा.वि. मालिका १ मा एनएमबि बैंकसँगको साझेदारीमा ९३ जना विद्यार्थीहरुलाई स्कूल व्याग र न्यानो कपडा वितरण गरेको, पत्रकार सहासंघमार्फत् सञ्चारकर्मीहरुलाई मास्क र स्यानीटाइजर प्रदान, COVID-19 को महामारीको समयमा विभिन्न गाउँपलिकाको विपत व्यवस्थापन कोषमा नगद रकम सहयोग, केयर नेपालसँगको साझेदारीमा सत्यवती गा.पा. का बाढी पहिरो पीडितका लागि करिब ५ लाख ५० हजार बराबरको राहत सामग्री वितरण, विपन्न तथा असहायहरुका लागि नगद सहयोग प्रदान, समाजका विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान तथा पुरस्कारप्रदान लगायतका काम गरेको समीक्षा गरिएको थियो ।

सोही अवसरमा संस्थाले आगामी कार्ययोजनासमेत निर्माण गरेको छ । जसअन्तर्गत उपहार प्रदानको कामलाई निरन्तरता दिने, दलित, गरिव, विपन्न बालबालिकालाई छात्रवृत्ति एवं शैक्षिक सामग्री प्रदान गर्ने, विपद्मा परेकालाई राहत उपलब्ध गराउने, कल्याणकारी कोष बनाउने, संस्थाको परिचययुक्त ब्रोसर, वार्षिक प्रतिवेदन तथा अन्य सामग्री प्रकाशन गर्ने, वेवसाइट, फेसबुक पेज, म्यासेन्जर वक्स जस्ता विद्युतीय सामग्रीको प्रयोगलाई प्रभावकारी बनाउने, अध्ययन तथा अवलोकन भ्रमणको आयोजना गर्ने, योग, ध्यान र स्वअध्ययनमा सहभागी हुन प्रेरित गर्ने गरी कार्ययोजना निर्माण गरिएको छ ।

                त्यसैगरी अनुगमनका काम प्रभावकारी बनाउने, सबैले आआफ्ना कार्यकक्षलाई आकर्षक बनाउने, फर्निचर, कागजात, फाइलहरु उचित स्थानमा राख्ने, बिग्रेका सामानहरुको समयमै मर्मत गरी पुनःप्रयोगमा ल्याउने, कार्यसमिति तथा कर्मचारीहरुका लागि प्रस्तावना लेखन, प्रतिवेदन लेखन तालिम संचालन गर्ने, संस्थामा पत्रु खाना (जंक फुड) लाई निषेध गर्ने र अर्गानिक खाद्य वस्तुलाई प्रवद्र्धन गर्ने, विदाको दिन घरपरिवारमा समय दिने, कार्यालयलाई सरसफाइयुक्त राख्ने र सेनिटाइजर, माक्स, सावुनपानीको नियमित व्यवस्था गर्ने कार्ययोजना बनाइएको छ ।

                कार्यालयभित्र ठुलो आवाजमा नबोल्ने, अफिसियल कागजपत्र, फाइल, टेवल तथा अन्य सामग्रीहरु उचित स्थानमा राख्ने, निर्णय प्रक्रियामा पूर्ण सहभागिता बनाउन ध्यान दिने, उपसमितिहरुलाई थप क्रियाशिल बनाउने, कार्यसमिति तथा कर्मचारीहरुलाई समय समयमा संस्थाको विधान, नीति, नियम, निर्देशिका, रणनीतिवारे प्रशिक्षण दिने कुरासमेत कार्ययोजनामा उल्लेख छ ।

                                                                                                    

हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विष्णु पाण्डे र संस्थाद्वारा सञ्चालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना (GECDP) का परियोजना संयोजक जगतबहादुर रानाले सहजीकरण एवं भरत भण्डारीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रम संस्थाकी उपाध्यक्ष भगवती श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो ।

                                                                                                   

 

संस्थाले हाल USAID/HKI को सहयोगमा गुल्मी जिल्लाभर सुआहारा दोश्रो कार्यक्रम, हेफर इन्टरनेशनल नेपालको सहयोगमा पशु वस्तुहरुको मूल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना (SLVC-II), USAID/FHI360 को सहयोगमा गुल्मी र अर्घाखाँची जिल्लामा नागरिक समाजः पारस्परिक जवाफदेहिता परियोजना (CS:MAP), मालिका गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना (GECDP)र गुल्मी अस्पतालको सहयोगमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।